१५औँ दक्षिण एसिया आर्थिक सम्मेलन २०२४ सम्पन्न
गत बुधबारदेखि काठमाडौँमा सुरु भएको १५औँ दक्षिण एसिया आर्थिक सम्मेलन २०२४ सम्पन्न भएको छ। दक्षिण एसियाली मुलुकहरूका साथै अन्य क्षेत्रका प्रख्यात अर्थशास्त्री, नीतिनिर्माता, र नागरिक समाजका अगुवाहरू सहभागी उक्त सम्मेलनमा ‘दक्षिण एसियामा समतामूलक हरित रूपान्तरणको उजागर’ विषयमा केन्द्रित भएर नीतिगत छलफलहरू भएका छन्।
सम्मेलनको समापन सत्रमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलवायु परिवर्तनजन्य जोखिमका कारण दक्षिण एसियामा असमानता र क्षति बढ्दै गएको औँल्याउनुभयो। उहाँले हरित अर्थतन्त्रमार्फत ऊर्जा र स्रोतको कार्यदक्षता सुधार गरी आर्थिक रूपान्तरणलाई गति दिनुपर्नेमा जोड दिनुभयो। गभर्नर अधिकारीले साना तथा मझौला उद्यमहरूको हरित रूपान्तरण र ठूला हरित पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्ने बताउँदै, नेपालको सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन लक्ष्य प्राप्तिका लागि ठूलो मात्रामा स्रोतसाधन आवश्यक हुने धारणा राख्नुभयो। उहाँले नेपालको जलविद्युत् क्षेत्रमा भएका उपलब्धिहरू र ‘ग्रीन ट्याक्सोनोमी’ लागू गरिसकेको पनि चर्चा गर्नुभयो।